Nepal Multipurpose Cooperative Ltd

Mechinagar 6 Kakarbhitta Jhapa
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (Nepal Multipurpose Cooperative Society Limited (NMC-COOP) २०५० साल फागुन २४ गते (March 8, 1994) डिभिजन सहकारी कार्यालय, झापामा दर्ता भएको सहकारी संस्था हो । सङ्घीय सहकारी ऐन २०७४ मा भएको व्यवस्था बमोजिम हाल यस संस्थालाई कोशी प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले नियमन गर्दछ । यो संस्थाको कार्यक्षेत्र झापा, इलाम र मोरङ तीन जिल्ला रहेका छन् । संस्था स्थापना गर्दा बचत तथा ऋण सहकारीको दर्ता भएको यस संस्थाले प्रारम्भदेखि नै सदस्यलाई सहज रूपमा वित्तीय सेवा प्रदान गर्दै आएको छ । स्थापनाको केही समयपछि बहुउद्देश्यीय सहकारीको रुपमा परिवर्तित भएपछि यस संस्थाले बहुल व्यवसाय सञ्चालन गर्दै आएको छ । उत्पादनका क्षेत्रमा संस्थाले डेरी उद्योग, चिया उद्योग, प्याकेजिङ उद्योग सञ्चालन गर्दै आएको छ । कृषि (Agro Farming) तर्फ धान, तरकारी, फलफूल र च्याउ खेती गर्दै आएको छ । त्यसैरी नै फलफूल तथा तरकारीका बेर्ना र साइलेज उत्पादन गर्दै आएको छ । कृषिअन्तर्गत आफ्नै जमिनमा नमुनाको रुपमा गाईपालन, माछापालन, मौरीपालन र हाँसपालन गर्दै आएको छ । स्थानीय कृषकलाई सहुलियत मूल्यमा कृषि यान्त्रीकरण (Custom Hiring Center(CHC) सञ्चालन गर्दै आएको छ । सदस्य र सर्वसाधारणको सहज पहुँच पुग्ने गरी विभिन्न स्थानमा सहकारी पसलहरु सञ्चालनमा रहेका छन् । संस्थामा हाल १ लाख ५० हजारभन्दा बढी सदस्यहरु रहेको संस्थाले सामाजिक व्यवसाय सञ्चालनका अतिरिक्त विभिन्न सामुदायिक गतिविधिहरु सञ्चालन गर्दै आएको छ । ‘असल संस्कार र समृद्धिका लागि एनएमसी’ भन्ने मुख्य थिम लिएको संस्थाले समयप्रतिको प्रतिवद्धता, सामाजिक योगदानमा मेरो १ रुपियाँ, चेतनामूलक सरसफाइ, सदस्यहरुप्रति आदरभाव जस्ता अभियान सञ्चालन गर्दै आएको छ ।